नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजबाट सुरु , यी हुन् मुख्य एजेण्डा
काठमाडौं , मंसिर २५ । नेपाल र भारतबीचका ऊर्जा सचिवहरुबीचको भर्चुअल बैठक बिहीबारबाट सुरु भएको छ। बिहीबार र शुक्रबार गरी दुई दिनसम्म बैठक चल्ने छ । सचिव स्तरीय जोइन्ट स्टेयरिङ कमिटी (जेएससी) को आठौं बैठकमा नेपालले अन्तरदेशीय प्रशारण लाइन, नेपाल भारत र बंगलादेशसँगको विद्युत व्यापार र भारतसँगको इनर्जी बैकिङसम्बन्धी एजेण्डालाई प्राथमिकताका साथ पेश गर्ने भएको छ।
ऊर्जा सचिव दिनेश कुमार घिमिरेका अनुसार गतवर्ष भारतको बैंङ्लोरमा बसेको जेएससीको सातौं बैठकमा उठाइएका एजेण्डाको प्रगति र तिनै विषयमा भएको प्रगतिबारे आठौं बैठकमा छलफल गरिनेछ। नेपाल–भारत–बंगलादेश त्रिदेशीय विद्युत व्यापारका विषयमा पनि ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुनेछ। नेपालले बंगलादेशसँग विद्युत व्यापार गर्नका लागि भारतको पनि भूमिका रहेकाले त्यस विषयमा पनि बैठकमा छलफल हुनेछ।
त्यस्तै, नेपालले पछिल्ला वर्षहरुमा भारतलाई इनर्जी बैंकिङ सम्बन्धी अवधारणालाई पूर्ण रुपमा पालनाका लागि आग्रह गर्दै आएको छ। नेपाल र भारतबीच २६ डिसेम्बर २०१८ मा इनर्जी बैंकिङसम्बन्धी सम्झौता भएको थियो।
नेपालमा वर्षायाममा विद्युत उत्पादन बढी हुने हुँदा भारत निर्यात गर्ने र सुख्खायाममा उत्पादन घट्दा भारतबाट आयात गर्ने अवधारणाअनुसार इनर्जी बैंकिङका लागि दुई देशबीच सम्झौता भएको थियो।
तर यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन। जेएससीको सातौं बैठकमा नेपाल भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत व्यापार तथा बजार, अन्तरदेशीय प्रशारण लाइनको अवस्था, इनर्जी बैंकिङलगायत विषयमा छलफल भएको थियो।















प्रतिक्रिया दिनुहोस्