प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक, के छ एजेन्डा ?

 

काठमाडौं, मंसिर २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।मंसिर २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक डाकिएको बालुवाटार स्रोतले जनाएको छ।

बैठकमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने बताएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् भने लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरुमा लामो समयदेखी पदाधिकारी रिक्त छन्।

ती पदहरुमा कसलाई नियुक्ति गर्ने भन्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमति जुटिसकेको छैन । सत्तारुढ दलभित्रै पनि प्रधानमन्त्री ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समेत समझदारी बनिनसकेको बताइरहेका बेला प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएका हुन् । अहिले बिभिन्न संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त रहेका छन्।

प्रतिक्रिया दिनुहोस्