राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भयो : नेता नेपाल

काठमाडौं, मंसिर २४ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भएको बताएका छन् ।

नेता नेपालले नवप्रवर्तन उद्योगहरुमा पूँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बेला आएको बताए ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले नवप्रवर्तन उद्योगहरुलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको पनि बताए ।साना तथा घरेलु उद्यमीहरुलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने समेत उनले बताए ।

कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पुर्‍याउने विषयमा समेत राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिए । नवप्रवर्तन उद्योगहरुमा पूँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातित वस्तुहरुलाई विस्थापित गर्ने तर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उनको भनाई छ ।

यसबाहेक नागरिकस्तरमा स्वदेशी बस्तुको उपभोग गर्नुपर्छ भन्ने भावना जाग्रित गर्न समेत सकरारले भूमिका खेल्नुपर्ने बताए । नवप्रवर्तन उद्योगको पूँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य रहेको उनले बताए ।

नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकोले त्यसमा आधारित उद्योग व्यवसायको प्रवर्धनमा जोड दिनुपर्ने पनि उनको भनाई छ ।जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अहिलेपनि कृषिमा निर्भर रहेकोले कृषिमा आधारित अर्थतन्त्रलाई नै प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

किसानले उत्पादन गरेका सबै वस्तुको विक्री हुने ज्ञारेन्टी सरकारले लिएमा व्यवसायिक कृषि उत्पादन तर्फ युवाहरुको आकर्षण बढ्ने नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्