सर्वदलीय बैठक : राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका हुन् ।

देशभर राजावादीको आन्दोलन चर्किएका बेला यसबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएका ओलीले यस्तो आह्वान गरेका हुन् । बैठकमा उनले भनेका छन्– ‘संविधान विरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट होऔँ ।’ पछिल्लो समय देशभर पूर्व राजा ज्ञानेन्द्रको समर्थनमा प्रदर्शन हुँदै आएको छ । राजसंस्था स्थापना हुनुपर्छ भन्दै प्रदर्शन भइरहँदा प्रधानमन्त्रीले सर्वदलीय बैठक डोकका हुन् ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट पारे । बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बालुवाटारमा भएको सो बैठकमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेपाल कम्यनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु लगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्