सानिमा बैंकले पुस १ गतेदेखि ऋणपत्र निश्कासन गर्दै

काठमाडौं, मंसिर २३ । सानिमा बैंकले पुस १ गतेदेखि ऋणपत्र जारी गर्दैछ।

बैंकले कुल ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। सोमध्ये ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने १५ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री हुनेछ।

अंकित मूल्य प्रतिकित्ता १ हजार रहने ऋणपत्रमा सर्वसाधारणले कम्तीमा २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ। ऋणपत्रको निश्कासन तथा बिक्रीकर्ताको रुपमा एनआइसी एसिया क्यापिटल रहेको छ।

सो ऋणपत्रमा लगानी गर्न इच्छुकले छिटोमा पुस ५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। सो मितिभित्र सबै ऋणपत्रका लागि आवेदन नपरेमा ढिलोमा पुस १५ गतेसम्म आवेदन खुल्नेछ।१० वर्षे अवधि रहेको यो ऋणपत्रमा ब्याजदर ८।५ प्रतिशत तोकिएको छ। लगानीकर्ताले प्रत्येक पुस मसान्त र असार मसान्तमा ब्याज रकम आफ्नो बैंक खातामा प्राप्त गर्दछन्।

१० वर्षपछि मात्रै साँवा र अन्तिम ब्याजको किस्ता प्राप्त हुनेछ। बैंकले दिने ब्याजमा ५ प्रतिशत पुँजीगत लाभकर भने लाग्नेछ।यस्तो ऋणपत्र सम्वद्ध बैंक ९सानिमा०बाहेक अन्य बैंकमा धितो राखेर ऋण समेत पाइन्छ। बैंकले जारी गरेको ऋणपत्रलाई इक्रा नेपालले न्यून जोखिमको रेटिङ ‘एलए’ प्रदान गरेको छ।

लगानीका लागि ऋणपत्र कम जोखिमपूर्ण मानिन्छ। कथंकदाचित कम्पनी टाट पल्टिएमा निक्षेपकर्तालाई दिएपछिको सम्पत्तिमा ऋणपत्र धनीको हक हुन्छ। यसअघि बैंकले २०७२ साउन २० गते ३७ करोड रुपैयाँ बराबरको ७ वर्षे अवधिको ऋणपत्र जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्