सकियो सर्वदलीय बैठक : के भयो छलफल ? कांग्रेसले भन्यो- राजावादीको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि

काठमाडौं , मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । बैठकमा मुलतः समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।

आजको सर्वदलिय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोभिड – १९’ को नियन्त्रणमा सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका थिए । ‘कोभिड(१९’ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन उनले सबैसँग अपिल समेत बैठकमा गएिको नेताहरुले बताएका छन् ।

यस्तै सङ्घीय संसद् मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा नेताहरुको वरियतालाई दृष्टिगत गरी नामसहित मेच र टेबुल मिलाइएको थियो ।बैठकमा उपस्थित भएका प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा केहिबेर बैठकमा बसेर लिखित धारणा राख्दै बैठकबाट बाहिरीएका थिए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी _(जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अन्तिमसम्मै सहभागिता थियो । यसैबीच यता नेपाली कांग्रेसले अहिले सडकमा देखिएको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि भएको बताएको छ ।

प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले सरकार संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि देखिएको बताएको हो । सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्ने हो भने सबै ठीक हुने कांग्रेस नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो आज बसेको बैठक करिब ३ घण्टासम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्