बढ्यो सगरमाथाको उचाइ, अब नयाँ उचाइ कति ?

काठमाडौं , मंसिर २३ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।

अब सगरमाथाको उचाइ ८,८४८.८६  मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरेका छन् ।

उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ उद्घाटन हुने सहमति २०१९ को अक्टोबरमा भएको थियो । नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । नेपालले मापन गरेको उचाइ चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सार्वजनिक गरिएको हो ।

नापी विभागले आफ्नै जनशक्तिबाट फिल्ड सर्बेबाट प्राप्त तथ्यांक आफ्नै प्रयोगशालामा प्रशोधन गरेर उचाइ पत्ता लगाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्