बेलायतमा कोरोनाविरुद्धको खोप अभियान सुरु , पहिलो खोप दिइयो ९० वर्षीया वृद्धालाई

काठमाडौं, मंसिर २३ । बेलायतमा मंगलबारदेखि आममानिसमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट दिन सुरु गरिएको हो ।

बीबीसीका अनुसार उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिलालाई पहिलो कोरोना खोप दिइएको छ । कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा ९० वर्षीया मार्गरेट कीननलाई पहिलो पटक कोरोना खोप दिइएको हो । कीननले कोरोना खोप लिन पाउँदा आफू भाग्यमानी महसुस भएको बताएकी छन्। बेलायतका खोप केन्द्रबाट सुरुमा केही स्वास्थ्यकर्मी र ८० वर्षभन्दामाथिका संक्रमितलाई भ्याक्सिन लगाइने बताइएको छ।

यो खोप अभियानले महामारीलाई नियन्त्रणमा ल्याउने र मानिसलाई कोरोना कहर अगाडिको सामान्य जीवनमा फर्काउने विश्वास लिइएको छ।तस्बिर – बीबीसी

प्रतिक्रिया दिनुहोस्