सर्वदलीय बैठक बालुवाटारमा जारी, संविधान विरोधीविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान
काठमाडौँ , मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवासटारमा जारी छ। समसामायिक राजनीतिक विषयमा छलफल गर्न बैठक चलीरहेको हो ।
बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सहभागी नेताहरूलाई स्वागत गर्दै संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैलाई आग्रह गरेका छन्।
आजको छलफल आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणको प्रयास र प्राप्त उपलब्धिबारे पनि कुरा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा संसदमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहभागी छन्। छलफल अहिले पनि जारी छ।
सत्तारूढ दल नेकपाभित्रको विवाद चरमबिन्दुमा पुगेको तथा राजावादी सक्रिय भइरहेका बेला आयोजित सर्वदलीय बैठकलाई महत्वका साथ हेरिएको छ।
यसअघि गत वैशाख ३१ गते भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आयोजना गरेका थिए। पछिल्लो समय नेकपामा विवाद चर्कीएको छ ।















प्रतिक्रिया दिनुहोस्