नेपाल इन्भेष्टमेन्ट बैंकले पायो ४ अर्बको ऋणपत्र निष्काशनको अनुमति

काठमाडौं, मंसिर २१ । नेपाल इन्भेष्टमेन्ट बैंकले ७ वर्ष अवधिको लागि ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ। धितोपत्र बोर्डले बैंकलाई  ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’  निष्काशनका लागि अनुमति प्रदान गरेको हो। बैंकले ८।५ प्रतिशत ब्याजदरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न सक्नेछन्।

बैंकले सर्वसाधारणका लागि प्रतिइकाई एक हजार रुपैयाँको दरमा १६ लाख कित्ता बिक्री गर्नेछ। बाँकी २४ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत आफैँले बिक्री गर्न सक्नेछ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य जारी गर्न निर्देशन दिएको छ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट एण्ड बैंकिङ रहेको छ। बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भएकाले बैंकिङ ब्याजदर धेरै तल छ। ब्याजदर कम भएको मौकामा बैंकले ८।५ प्रतिशत ब्याजदरमै ऋणपत्र निष्काशन गर्ने मौका पाएको हो। राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले यो ऋणपत्र निष्काशन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्