नेकपा स्थायी समिति बैठकः धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा , कुकुर पनि परिचालन
काठमाडौं, मंसिर २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक केही बेरमा सुरु हुँदैछ।धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकलाई लक्षित गरी सो क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। नेकपा कार्यलय वरपर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
त्यस्तै सो क्षेत्रमा नेपाली सेनाको बम डिटेक्टर टोलीले तैनाथ गर्नुका साथै कुकुर समेत परिचालन गरिएको छ।प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने भएकोले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
बैठकस्थलमा नेताहरु आउने क्रम जारी छ। अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीबाहेकका नेताहरु केन्द्रीय कार्यालय पुगिसकेका छन्।यसअघि मंसिर १७ गतेको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरक्षा थ्रेट भएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।
आजदेखि सुरु हुने स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ मा ल्याएको राजनीतिक प्रस्ताव र मंसिर १३ गते त्यसको जवाफमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ।
दुबै प्रतिवेदनमाथि सचिवालय बैठकले निर्णय गर्न असफल भएपछि शनिबार बसेको सचिवालय बैठकले स्थायी समितिमा लगेर छलफल गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्