सोमालियाबाट अमेरिकी सेना फिर्ता बोलाउन ट्रम्पको आदेश

काठमाडौँ , मंसिर २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमालियामा रहेका सबै अमेरिकी सेना फिर्ता गर्न आदेश दिएका छन् । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अनुसार आगामी जनवरी १५ तारिखसम्ममा सोमालियामा रहेका अमेरिकी सेनालाई फिर्ता गरिनेछ ।

बीबीसीका अनुसार सोमालियामा करिब ७ सयको संख्यामा अमेरिकी सेना रहेका छन् । अमेरिकी सेनाले सोमालियाको सरकारलाई आतंकवादी समूह अल शबाब र इस्लामिक स्टेटसँगको लडाईँमा साथ दिइरहेको छ । अमेरिकी रक्षा अधिकारीहरुका अनुसार सोमालियामा रहेका केही सैनिकलाई छिमेकी देशमा अन्तरसीमा अपरेसनमा परिचालन गरिने भएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकमा पनि अमेरिकी सेनाको संख्या कटौती गर्न आदेश दिइसकेका छन् । अमेरिकी सेनाको हस्तक्षेप महँगो र निष्प्रभावी भएको उल्लेख गर्दै ट्रम्पले अमेरिकी सेनालाई फिर्ता बोलाउने घोषणा गरेका हुन् ।

यो आदेशसँगै डोनाल्ड ट्रम्पले पूर्वअमेरिकी रक्षामन्त्री मार्क एस्परको नीति पनि उल्ट्याइदिएका छन् । पछिल्लो महिना मात्रै बर्खास्त भएका एस्पर सोमालियामा अमेरिकी उपस्थिति केही समय रहोस् भन्ने चाहन्थे ।

विश्व मामिलाका केही विज्ञहरुले भने सोमालियामा अमेरिकी सेना फिर्ता बोलाउँदा अफ्रिकी क्षेत्रमा आतंकवादी गतिविधि झन् बढ्ने चेतावनी दिएका छन् । सोमालियाका सांसदले पनि अमेरिकी सेना फिर्ता जाँदा मुलुकमा आतंकवादी समूहको गतिविधि झन् बढ्ने र हिंसा चर्कने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्