बालुवाटरमा सुरु भयो नेकपा सचिवालय बैठक, ओली पनि सहभागी
काठमाडौँ , मंसिर २० । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक सुरु भएको छ ।बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । यसअघि गत मंगलबार बसेको बैठकमा ओली सहभागी भएका थिएनन् ।
सो बैठकले शनिबारको बैठकमा ओलीलाई सहभागी हुन अनुरोध गर्दै १८ गतेका लागि तय भएको स्थायी समिति बैठक समेत मंसिर २१ का लागि सार्ने निर्णय गरेको थियो ।नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक तय भएको समयभन्दा १ घण्टाअघि नै बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच ‘वा टू वान’ वार्ता समेत भएको थियो । नेकपाका सबै घटनाक्रमलाई चासोपूर्वक हेरिएको छ ।
ओलीले अनौपचारिक संवादमार्फत दुई अध्यक्षवीच सहमतिपछि मात्रै बैठक बस्ने अडान लिएका थिए । उनले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान पनि राखेका छन् । अर्कोतिर ओलीले संक्रमणकालीन कमिटीबाट बहुमत–अल्पमतका आधारमा निर्णय हुन नसक्ने आफ्नो मत पनि राखेका छन् । तर, दाहाल नेपालपक्ष भने सहमति नभए विधि अनुसार नै बहुमत–अल्पमतमा जानुपर्नेपक्षमा छ ।
ओली निकट नेताहरुले दुवैले राजनीतिक प्रस्ताव थाती राखेर साझा प्रस्ताव ल्याउने अवस्था बन्ने र २६ भदौमा सम्पन्न स्थायी समितिको निर्णय कार्यान्वयन गर्दै महाधिवेशन सम्पन्न गर्ने नै संकट समाधानको विकल्प हुने बताएका छन् ।
बुधबारको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, मंसिर २० मा सचिवालय र मंसिर २१ मा स्थायी समिति बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्