हिन्दू राष्ट्रको माग गर्दै हेटौँडामा राप्रपाको प्रदर्शन
काठमाडौं, मंसिर १९ । पछिल्लो समय राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ। यसैबीच हिन्दू राष्ट्रको माग गर्दै हेटौँडामा राप्रपाले आज प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै हेटौँडामा प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा राजा र हिन्दूत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा चर्का नाराबाजी गरिएको थियो। शुक्रबार पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको मोटरसाइकल र्यालीले बजारका महत्वपूर्ण स्थानको परिक्रमा गरेको थियो।
शहर परिक्रमा पश्चात सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए। कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने बताए।
कांग्रेस र कम्युनिष्टको नीति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारीले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे।
पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रबाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए। राप्रपाको नेतृत्वमा असली परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले बताए। यसरी पछिल्लो समय काठमाडौं लगाएत देशभर राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्