ईश्वर पोखरेलले प्रचण्डलाई भेटेर भने– विवाद हल गर्न साझा प्रस्ताव ल्याऔँ
काठमाडौँ, मंसिर १९ । उपप्रधानमन्त्रीसमेत रहेका नेकपा नेता ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटमा उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डलाई पार्टीको विवाद हल गर्न साझा प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेका नेता पोखरेलले साझा प्रस्ताव ल्याउन आग्रह गरेको बताइएको छ ।यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।
कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए।
प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन्। प्रधानमन्त्री ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन्।
पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् ।नेकपाको सचिवालय बैठक शनिबार दिउँसो १ बजे तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्