परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् – नेपाल भारतबीचको संवादहीनता अन्त्य भयो
काठमाडौं , मंसिर १९ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको उनले बताए ।
समितिमा सांसदहरुले भारतीय विदेशसचिव र चीनका रक्षा मन्त्रीको भ्रमणबारे प्रश्न गरेका थिए । जवाफमा मन्त्री ज्ञवालीले चीनीयाँ रक्षामन्त्रीको भ्रमण नियमित भएको बताए । त्यस्तै, भारतीय विदेश सचिवको भ्रमणले नपाल भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भएको उनले बताए ।
मन्त्री ज्ञवालीले बैठकमा दोस्रो सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेको र नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको बताएका थिए । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको उनको भनाइ थियो ।
नेपाल भारत सम्बन्ध समस्यालाई वार्ताबाट समाधान गर्ने र सम्बन्धलाई सुदृढ गर्ने बाटोमा अगाडि बढेको उनले जानकारी गराए । यसैबीच भारतीय विदेशमन्त्री एस जयशंकरले पनि नेपाल र भारतबीच बिगतमा केही समस्या रहे पनि अहिले दुवै मुलुकले आपसी सम्बन्धलाई अगाडि बढाउने निर्णय गरिसकेको बताएका छन् ।
नेपाल र भारतले आपसी समस्याहरूलाई सुल्झाएर अघि बढ्ने निर्णय गरिसकेको उनले बताएका हुन् ।केहि समय अघि दुई मुलुकबीच तनावको अवस्था देखिए पनि अहिले भारतीय अधिकारीहरुले नेपालको भ्रमण गरिरहेका छन् ।











प्रतिक्रिया दिनुहोस्