आन्तरिक लगानी बढाउन निजी क्षेत्रसँग सहकार्य गर्छौं : मन्त्री भट्ट

काठमाडौं‌ , मंसिर १८ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा मन्त्री भट्टले यस्तो बताएका हुन् । कोभिड(१९ महामारीपछिको परिस्थितिमा लगानी बढाई रोजगारी सिर्जना गर्ने सन्दर्भमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प नहुने मन्त्री भट्टले बताए । साथै वैदेशिक लगानी भन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी काम गरिने उनले स्पष्ट पारे ।

यसैबीच महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको स्थितिमा कतिपय उद्योगमा मजदुरहरुले बन्द हडताल गरिरहेको भन्दै त्यसलाई रोक्न पहल गरिदिन मन्त्री भट्ट समक्ष माग गरेका छन् । उद्योग मन्त्रालयले निर्देशन जारी गरेर भएपनि बन्द हडताल रोक्नुपर्ने माग अध्यक्ष गोल्छाले गरे ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले साना तथा मझौला उद्योगहरुले पुनर्कर्जाको सुविधा पाउन नसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्