नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने
काठमाडौँ , मंसिर १८ । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।
गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्विमिङ, सुटिङ र हकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् ।
स्विमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गा खोज्ने कार्य भइरहेको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले स्पष्ट पारे । यद्यपि खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्