काठमाडौंको गोकर्णेश्वरमा हिटर बालेर सुत्दा आमाछोरी मृत फेला, श्रीमान् अचेत

काठमाडौं , मंसिर १८ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-२ मा आमाछोरी मृत फेला परेका छन्। २७ वर्षीया पेम्बा शेर्पा र उनकी एक महिनाकी छोरी मृत फेला परेका हुन्।

३२ वर्षीय श्रीमान् दोर्जे शेर्पा पनि अचेत भेटिएका छन्। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन कार्कीले दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाएको बताए।

राति हिटर बालेर सुतेका कारण निसासिएर घटना भएको हुन सक्ने डीएसपी कार्कीले बताए। बिहान स्थानीयले अबेरसम्म शेर्पा परिवार नउठेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले ढोका फोडेर हेर्दा आमाछोरी मृत र बुबा ९दोर्जे० चाहिँ अचेत अवस्थामा फेला परेका थिए। डीएसपी कार्कीले देखापढीसँग कुराकानी गर्दै कोठामा भेन्टिलेटर पनि नभएको पाइएको बताए।

मृतक दुवै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्