भारतीय विदेश मन्त्री भन्छन् -नेपालसँग समस्या थियो तर अब दुबै मुलुकले अघि बढ्ने निर्णय गरिसके

काठमाडौं, मंसिर १८ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीच बिगतमा केही समस्या रहे पनि अहिले दुवै मुलुकले आपसी सम्बन्धलाई अगाडि बढाउने निर्णय गरिसकेको बताएका छन् । नेपाल र भारतले आपसी समस्याहरूलाई सुल्झाएर अघि बढ्ने निर्णय गरिसकेको बताए ।

‘द हिन्दू’सँगको अन्तर्वार्ताको क्रममा जयशंकरले विश्वभर आफ्ना छिमेकी मुलुकसँग कुनै समस्या नरहेको मुलुक नभएको दाबी गर्दै गर्दै त्यसलाई कसरी हल गरेर अघि बढ्ने भन्ने कुरा महत्वपूर्ण भएको बताए। यसै वर्ष नेपालले लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच तनावको अवस्था देखिए पनि अहिले भारतीय अधिकारीहरुले नेपालको भ्रमण गरिरहेका छन् । तर, नेपाल आफ्नो मुद्दाबाट पछि हटेको छैन । यस्तोमा भारतको दृढताको नीति कसरी कायम रह्यो भनी जयशंकरलाई प्रश्न गरिएको थियो ।

यसको जवाफमा उनले कुनै एउटा घटनालाई लिएर समग्र सम्बन्धको विषयमा टिकाटिप्पणी गरिनु उचित नहुने बताएका थिए ।द हिन्दुकी पत्रकार सुहासिनी हैदरले जयशंकरलाई नेपालको संविधान जारी भएपछिको नेपाल(भारत सम्बन्धबारे प्रश्न राखेकी थिइन्।

भारतको विरोधका वाबजुद् नेपालले संविधान घोषणा गरेको र गत वर्ष लिपुलेक, लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको प्रसंग उल्लेख गर्दै उनले नेपाल आफ्नो अडानबाट पछि नहटे पनि पछिल्लो समय भारतीय अधिकारीहरूले लगातार काठमाडौं भ्रमण गरेको कुरालाई कसरी हेर्ने भनेर सोधेकी थिइन्।

जवाफमा विदेश मन्त्री जयशंकरले कुनै एउटा घटनालाई मूल्यांकनको आधार बनाउनु नहुने बताए।उनले नेपालसँग केही मुद्दाहरू भए पनि अहिले दुबै देशले साझा हितका लागि तिनलाई सुल्झाएर अघि जाने निर्णय गरिसकेको बताए। झन्डै एक वर्षसम्म कूटनीतिक र राजनीतिक रूपमा नेपाल(भारतबीचको संवादहीनता अघिल्लो महिनादेखि तोडिएको छ।

सुरूमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल नेपाल आएका थिए। उनी ुसुटुक्कु नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए।उनीपछि भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाडौं ओर्लिए। नेपाली सेनाको मानार्थ महारथिको दर्जा लिन आएका उनले पनि महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए।

मंसिर ११ गते भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला नेपाल आए। उनले परराष्ट्र सचिव भरतराज पौडेलसँग दुई पक्षीय औपचारिक वार्ता गरेका थिए भने परराष्ट्र मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका थिए। पछिल्लो समय नयाँदिल्लीमा दुई देशका परराष्ट्र मन्त्रीस्तरीय वार्ताको कुरा चलिरहेको छ तर मिति भने टुंगिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्