उदयपुरमा भरुवा बन्दुकको गोलीले वनरक्षकको निधन
काठमाडौं, मंसिर १८ । उदयपुरका बुधबार राति भरुवा बन्दुक पड्केर एक वनरक्षकको निधन भएको छ। वन गस्तीमा रहेका बेला भेटिएको भरुवा बन्दुक पड्कदा त्यसको छर्रा लागेर बेलका नगरपालिका १ तपेश्वरीस्थित सवडिभिजन वन कार्यालयका वनरक्षक ४० वर्षीय लेखनाथ वास्तोलाको निधन भएको प्रहरीले जनाएको छ।
बुधबार गस्ती गएको टोलीले स्थानीय भुलभुले सामुदायिक वन उपभोक्ता समूह क्षेत्रबाट तस्करले छाडेको अवस्थामा एउटा भरुवा बन्दुक फेला पारेर ल्याउँदै गर्दा आफै पड्केर वास्तोलाको निधन भएको डिभिजन वन कार्यालय उदयपुरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। स्थायी घर सुनसरीको दुहवी रहेका वास्तोलाको घट्नास्थलमै निधन भएको प्रहरी भनाई छ।
प्रहरीका अनुसार ६ जनाको गस्ती टोलीले वन क्षेत्रबाट गोलीसहित भरिएको अवस्थामा तस्करले छाडेको बन्दुक रहेको फेला पारेर बरामद गरी ल्याउँदै थियो। फर्केर कार्यालय आएपछि बन्दुक झिक्ने क्रममा पड्केर घट्ना भएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए। उनका अनुसार राति १० बजे भएको घट्नाबारे थप अनुसन्धान भईरहेको छ।
डिभिजन वन अधिकृत अम्बिकाप्रसाद पौडेलले घट्नाको पुष्टि गरेका छन्। बिहीबार विहानदेखि घट्नास्थलमै रहेका पौडेलले भरुवा बन्दुक पड्केर दुःखद घट्ना घटेको भन्दै यसबारे विस्तृत अनुसन्धान सुरु गरिएको बताए। डिभिजन र प्रहरी दुवैतर्फबाट अनुसन्धान थालिएको उनले बताएका छन्।
अवैध काठको चोरी तस्करी तथा वन्यजन्तुको चोरी सिकारी हुने गरेको खवर पाएर खटेको गस्तीले तस्करले बन्दुक छाडेर भागेको अवस्थामा फेला पारेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बन्दुक कुन तस्कर समूहले छाड्यो वा उसैको आक्रमणले घट्ना भयो भन्ने कुराको यकिन गर्न अनुसन्धानलाई पर्खनु पर्ने उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्