काँग्रेसका वरिष्ठ नेता पौडेल प्रहरी हिरासतमा, किन लिइयो नियन्त्रणमा ?

काठमाडौं, मंसिर १७ । आफ्नै गृहजिल्ला तनहुँमा काँग्रेसका नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा छन् । एक पुल उद्घाटन् गर्न जाने बेलामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।आफूलाई प्रहरीले हिरासतमा लिएको नेता पौडेलले आफै जनाकारी दिएका थिए । । पौडेल अहिले पनि प्रहरी नियन्त्रणमै छन् । तालघारी भन्ने स्थानबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो ।

पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका थिए । यता यसैबीच झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको बताएका थिए ।

व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो । नेकपाले कांग्रेसका नेतालाई पुल उद्घाटन गर्न नदिने भन्दै प्रदर्शन गर्‍यो । नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले कांग्रेसले जबर्जस्ती गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरिएको जनाएका छन् ।

वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।

नेकपाका कार्यकर्ताले उनलाई अवरोध गर्न सक्ने भएकाले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । अहिले पनि नेता पौडेलसहितका नेतालाई प्रहरीले नियन्त्रणमै राखेको नेता स्वकीय सचिव अधिकारीले जानकारी गराए ।

यसैबीच नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कांग्रेस कार्यकर्तालाई गिरफ्तार गरिएकोमा सरकारको विरोध गरेका छन् ।उनले स्थानीय तहले निर्माण गरेको आयोजना उद्घाटनमा अवरोध गर्नु संघीयता विरोधी काम भएको समेत टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै निधिले पौडेललाई पुल उद्घाटनमा रोक्नु तानशाही काम भएको आरोप लगाएका हुन् । पुल उद्घाटनका क्रममा विवाद भएपछि बुधवार प्रहरीले कांग्रेस नेता पौडेललाई तनहुँमा नियन्त्रणमा लिएको थियो ।

‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौं कांग्रेस नेताहरूलाई लछारपछार गरी गिरफ्तार गरेकोमा सरकारको घोर भत्र्सना गर्दछु । स्थानीय तहले निर्माण गरको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयता विरोधी र तानाशाही काम हो,’ निधिले ट्वीटरमा लेखेका छन् ।

यसैगरि नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संठनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएकोमा प्रदर्शन गर्न भएको छ । नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनमा बुधबार ९आज० साढे पाच बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए ।नालायक, निकम्मा र भ्रष्ट सरकारको ज्यादतिका विरुद्ध प्रदर्शन गर्न लागि भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्