कैलालीमा प्रहरी हत्या प्रकरणः संलग्न ८ जना पुर्पक्षका लागि कारागार चलान, ब्यापारी डेढ लाख धरौटीमा छुटे
काठमाडौं, मंसिर १७ । कैलालीको धनगढीमा प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी धरौटीमा छुटेका छन् भने अन्य ८ जना कारागार चलान भएका छन् ।
मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीका व्यापारी राजिव गुप्ता एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।हत्या अभियोगमा पक्राउ परेका अन्य ८ जना भने कारागार चलान भएका प्रहरीले जनाएको छ ।
धनगढी उप–महानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान रामबहादुर साउदको हत्यासँग जोडिएको मटर गुप्ताको भएको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो ।
हत्या अभियोगमा पक्राउ परेका अन्य ८ जना भने कारागार चलान भएका छन् । जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका धनगढी उप–महानगरपालिका–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना ९क०, रोहित राना ९ख०, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद वेपत्ता भएका थिए । बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने दुई दिनपछि साउद पनि मोहना नदीमै मृत्यु अवस्थामा फेला परेका थिए ।











प्रतिक्रिया दिनुहोस्