दोहोरो प्रकृतिका करलाई खारेज गर्न उद्योगी व्यवसायीको माग
काठमाडौं , मंसिर १७ । उद्योगी व्यवसायीहरुले दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीहरुले बताएका छन् ।
उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुले बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफूहरु दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका छन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खसेको बताए । यसरी दुई सरकारबाट कर असुली गर्नु कानून विपरित भएको बताउँदै उनले यस्तै देशको आर्थिक विकासमा कतिपय कानूनहरु बाधक रहेको बताए ।
त्यसका लागि कुनकुन कानूनहरु परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिन लागेको पनि अध्यक्ष गोल्छाले बताए । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यस तर्फ ध्यान दिन माग गरे ।
यस्तै सरकारले निर्यातलाई अझबढी प्राथमिकता दिनुपर्नेमा जोड दिए । रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्न सुझाव दिए ।
यता अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र प्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताए ।
निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धि जस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताए ।
कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत वा मौद्रिक नीति मार्फत सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थभन्त्री पौडेलको भनाइ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्