एकघण्टा पर सर्‍यो नेकपा सचिवालय बैठक , २ बजे बस्दै , ओली पनि सहभागी हुने

काठमाडौं , मंसिर १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १ घण्टा पर सरेको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेका लागि सरको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुने भएका छन् ।उनले मंगलबारको बैठकमा नै आजको बैठकमा नआउने जानकारी गराएका थिए । त्यसैले प्रधानमनन्त्री उपस्थित हुने नहुने टुंगो लागेको थिएन ।

मंगलवारको बैठकमा ओलीले दसदिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए ।

सो क्रममा ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको पनि बताएका थिए । बहुमत सदस्यहरु पछि नहट्ने भएपछि ओली पनि बैठकमा सहभागी हुने भएका हुन् ।

सचिवालयका बहुमत सदस्यहरुले आज विहान अध्यक्ष प्रचण्ड निवासमा भेला भएर बैठकमा कसरी प्रस्तुत हुने र ओली सहभागी नभए कसरी अगाडि बढ्ने रणनीतिसमेत तय गरेका छन् । यता केही समयदेखि चर्किएको नेकपाभित्रको विवाद अध्यक्षद्वयको प्रस्तावपछि थप चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्