काठमाडौंमा सभा–जुलुस नगर्न स्थानीय प्रशासनको निर्देशन
काठमाडौं , मंसिर १६ । जिल्ला प्रशासन कार्यालय (जिप्रका), काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।
राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै राजधानी काठमाडौं लगायत देशभर प्रदर्शन भइरहेको बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यस्तो निर्देशन दिएको हो । प्रशासनले यस्ता गतिविधि गर्न रोक लगाएको छ । मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयले कोरोनाको जोखिम कायमै रहेको सन्दर्भमा सभा, जुलुस, प्रदर्शन र अभियान नगर्न आग्रह गरेको छ ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जिप्रकाले जनाएको छ ।राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने जिप्रका काठमाडौंले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।
कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यता पछिल्लो समय राजावादी समूहले आगामी दिनमा समेत काठमाडौंमा प्रदर्शन गर्ने गरी कार्यक्रम तय गरेका छन् । देशका विभिन्न ठाउँमा राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन भइरहेको छ ।











प्रतिक्रिया दिनुहोस्