सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदलाई अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं, मंसिर १४ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदलाई आग्रह गरेका छन्।

विराटनगरमा आइतबार प्रदेश(१ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी ‘कोभिड(१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मी सँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए।

अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन जनप्रतिनिधि अगाडि सरेको मुलुकले सफलता प्राप्त गरेको अनुभव रहेको जानकारी गराउँदै नेपालमा पनि सांसद, स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका संगठनहरु जनतामा पुग्नुपर्ने धारणा राखे।

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए। अध्यक्ष तिमिल्सिनाले पैसा वा राहतले भन्दा सचेताना र स्वास्थ्य मापदण्डको पालना गर्दै अनुशासनमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएको बताए।

प्रतिक्रिया दिनुहोस्