नेपाल-भारतबीचको राजनीतिक भ्रमणको बाटो खुला,सीमा विवादको समाधान उच्च तहबाटै खोजिने
काठमाडौं , मंसिर १३ । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल—भारत सीमा विवादका कारण करिब ७ महिनादेखि जारी संवादहीनताको अन्त्यसँगै अब दुई देशबीच समस्या समाधान गर्ने विषयले सकारात्मक मोड लिएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीस्तरको भ्रमणको बाटो खुल्ने गरी अबको दुई सातापछि परराष्ट्र मन्त्रीस्तरको बैठक दिल्लीमा हुने निश्चित भएको छ । दुई देशको छैटौं संयुक्त आयोगको बैठकले उच्च तहको राजनीतिक वार्ता तय गर्नेछ । भारतीय विदेश सचिव शृंगलाले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय समकक्षी एस जयशंकरको सन्देशसँगै भ्रमणको निम्तो दिइसकेका छन् । पुसको पहिलो सातासम्म दुई देशको संयुक्त आयोगको बैठक दिल्लीमा हुने निश्चित भएसँगै उच्च तहबाट सीमा विवादको विषयमा छलफल हुनेछ ।
परराष्ट्रमन्त्री ज्ञवालीले पनि पुसको पहिलो साता हुने संयुक्त आयोगको बैठकमा नेपाल र भारतबीच देखिएको सीमा विवादको विषय हल गर्न बैठकमा कुरा राख्ने बताएका छन् । मन्त्री ज्ञवालीले ऐतिहासिक तथ्यका आधारमा भारतसँग सीमा विवाद समाधानको विषयमा छलफल गर्ने जनाएका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नयाँ नक्सा जारी भएयता नेपाल र भारतबीचको सम्बन्ध चिसिएको थियो ।
यहि बेला भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंग्ला बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आएका थिए ।सीमा विवादका कारण झन्डै एक वर्षदेखि नेपाल९भारतबीच सम्बाद हुन सकेको थिएन । बिहीबारबाट सम्वादको बाटो खुलेको छ । परराष्ट्र सचिवस्तरमा भएको बैठकले लामो समयदेखि नेपाल–भारतबीच रहेको तिक्ततालाई थोरै भए पनि कम भएको संकेत गरेको छ । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा सार्वजनिक गरेपछि नेपालले उक्त कदमको विरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्