नेपालको हवाई उड्डयनमा अब प्रतिबन्ध हुँदैन, औचित्य समाप्त भैसक्योः मन्त्री भट्टराई
काठमाडौं , मंसिर १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउने औचित्य नभएको दावी गरेका छन् ।
नगरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताए । तर पनि युरोपियन आकाशमा भएको प्रतिबन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने उनको भनाई छ ।
त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी दुईवटा संगठन बनाउने प्रक्रिया अगाडि बढिसकेको बताए । उक्त विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल भई अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधिसभामा समेत टेबुल हुने चरणमा रहेको बताए ।
अहिले प्रकाशित भएको सेफ्टी रिपोर्ट र संगठनात्मक पुनरसंरचनाको कानूनी निर्णयबाट नेपालको हवाई उड्डयन क्षेत्रको कुनैपनि प्रतिवन्धहरु फुकुवा हुने ठाउँमा पुग्ने बताए ।
कोभिडको व्यापक संक्रमण भएको अवस्थामा पनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको दावी समेत मन्त्री भट्टराईले गरे । नियमित उडान बन्द गरिएपनि एयरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको उनको भनाई छ ।
अहिले पनि केही अन्तर्राष्ट्रिय गन्तव्य बाहेक नेपालले विगतमा नियमित उडान गरेका गन्तव्यमा नेपालको तर्फबाट खुल्ला गरिएको पनि बताए । नेपालले कोभिड रोकथामका लागि उड्डयन क्षेत्रमा लागू गरेको मापदण्ड विश्वमै उदाहरणिय भएको पनि दावी गरे ।
प्रतिक्रिया दिनुहोस्