गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना गम्भीर
काठमाडौं, १२ मंसिर । । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जीपमा सवार २ जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठका अनुसार दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको छ ।
दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् ।
शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना थिए ।
दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरुले उद्धारगरिरहका छन् ।




प्रतिक्रिया दिनुहोस्