सकियो परराष्ट्र सचिवस्तरीय बैठक : छलफल सकारात्मक

 

काठमाडौं , मंसिर ११ । नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सकिएको छ ।करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो ।

वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी थिए । दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवको बीचमा वान अन वान वार्ता भएको थियो ।

वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले छलफलको राम्रो शुरुवात भएको बताउँदै दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको बताए ।

उनले अगाडि भने, ‘वार्ता एकदमै उपलब्धीमूलक भएको छ । वार्ताका एजेण्डाहरु एकदमै वृहत छन् । आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको छ ।’

बैठकपछि परराष्ट्र मन्त्रालयले एक ट्वीट मार्फत दुई देशका बीचमा एकदमै सौहार्द्धपूर्ण वातावरणमा छलफल भएको उल्लेख गरेको छ ।

काठमाडौस्थित भारतीय दूतावासले दुबै पक्षले थुप्रै द्विपक्षीय पहल र परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेको जनाएको छ । ‘आपसी सहकार्यलाई अगाडि बढाउन थप कदमहरू चाल्ने सहमति पनि भयो’ दूतावासले भनेको छ । यता होटेल याक एन्ड यतिमा भएको सो द्विपक्षीय बैठक सम्पन्न गरी सचिव श्रृंगला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्न परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेका छन्।

सचिवस्तरीय बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको थियो।सचिव पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि भारतीय सचिव श्रृंगला आजै काठमाडौँ आएका हुन्।

उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौडेल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्