उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन, भने- व्यवसायी देशको साझा सम्पत्ति हुन्

काठमाडौं, मंसिर ११ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमै थोरै व्यक्तिहरुलाई सहभागी गराई अन्यलाई भने भर्चुअल प्रविधिमा सहभागी गराएर साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हु्न्।

उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले व्यवसायी सरकारको पक्ष वा प्रतिपक्षको नहुने बताएका हुन्।उनले भने, “सरकारका लागि व्यवसायी आफ्नो पक्ष र अर्काको पक्षमा भन्ने हुँदैन। उनीहरू राष्ट्रका साझा सम्पत्ति हुन्।”

प्रधानमन्त्रीले सबै व्यवसायीले सरकारलाई कर तिर्ने र रोजगारी सिर्जना गर्ने भएकाले सरकार वा प्रतिपक्षको नभई राष्ट्रको हुने बताए।उनले उद्घाटन कार्यक्रममा बोल्दै यो कार्यक्रमको आयोजना गर्नुले नै अहिलेको अवस्था देखाएको बताए।

उनले भने, ‘अहिले परिस्थिति कठिन छ। त्यसले लामो समय यो संस्थामा रहेका र नेपालको उद्योग वाणिज्य तथा व्यापार व्यवसायमा रहेकाहरुले मिलेर काम गर्नुपर्ने हुन्छ।’

प्रधानमन्त्री ओलीले आर्थिक वृद्धि ८ दशमलव ५ प्रतिशतले हुने भनिए पनि झण्डै शून्यमा पुगे पनि यसमा आशा जगाउने स्थिति आएको बताए।

‘कयौँ देश ऋणात्मक हुँदा पनि हामी हुनुपरेन’, उनले भने, ‘विश्वको कयौँ देशले ठूलो रकम पुनरुत्थानमा खर्च गरिरहेका छन्। तर पनि नेपाल सरकारले दिएन भन्ने धेरै व्यवसायीलाई लागेको होला तर नेपाल सरकार मनको गरिब भएर हैन। आफ्नो गच्छे यस्तो भएकोले हो।’

उनले सरकारको गच्छेअनुसार रकम दिएको बताउँदै सोहीअनुसार दिने प्रतिबद्धता व्यक्त गरे।साधारणसभा उद्घाटन कार्यक्रममा स्वागतमन्तव्य राख्दै महासंघकी अधयक्ष भवानी राणाले कोरोनाको कारणले धेरै उद्योगी व्यवसायी मारमा परेको र उद्योग व्यवसायको कसरी उत्थान गर्ने भन्ने नै महासंघको अबको अवधारणा हुने र हुनुपर्ने बताइन्।

त्यसमा लोकत्रान्त्रिक पद्धतिबाट निर्वाचन हुनलागेका र निर्वाचनपछि महासंघको नेतृत्वमा आउने सबैले आपसी सहयोगमा काम गर्नुपर्ने अध्यक्ष राणाको भनाइ छ।
यो साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ।

प्रतिक्रिया दिनुहोस्