‘सरकार रमिते मात्रै भयो, आफ्नो सुरक्षा आफैँ गरौँ’ : नेता सिंह
काठमाडौं, मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला सरकारले रमिता मात्रै हेरेको बताएका छन् । आइतबार आफ्नो क्षेत्रका मतदाताहरुसँगको भेटका क्रममा नेता सिंहले यस्तो बताएका हुन् ।
मतदाताहरुसँग नेता सिंहले भने, ‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ । मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागिसमेत अशोभनीय हो ।’ यस्तै उनले सरकार संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा चुकेको पनि बताए ।
सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको नेता सिंहको टिप्पणी थियो । खासगरी कोरोना महामारी नियन्त्रणमा सरकार नराम्रोसँग चुकेको बताएका नेता सिंहले आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने पनि बताएका थिए । ‘कोरोना महामारीको बेलामा सरकारले के गर्यो अब यो भनिरहनु परेन । अब गर्छ भन्ने आश गर्ने ठाउँ पनि रहेन । यसर्थ आफैँ आफ्नो सुरक्षामा लाग्नुपर्छ ।
सरकारले आफूहरुले उठाएको सवालका विषयहरुलाई बेवास्ता गरेको पनि नेता सिंहको भनाइ थियो । ‘कांग्रेसले भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै पनि छ । तर, यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको उनले भने ।
प्रतिक्रिया दिनुहोस्