विराटनगरमा प्रहरी र तस्करबीच झडप, एक राउण्ड हवाई फायर

काठमाडौं, मंसिर ७ । विराटनगर १७ मटेरुवामा प्रहरी र तस्करबीच झडप भएको छ । सीमा क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवामा हवाई फायर गरेको हो ।

तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । प्रहरी र तस्कर समूहबीच भएको घम्साघम्सीका क्रममा एकजना प्रहरी जवानको हातमा सामान्य चोट लागेको छ ।

भन्सार छली गरेर भारतबाट अवैधरुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्ने क्रममा हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । ८/९ जनाको संख्यामा रहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा अवरोध भएको उनले बताए ।

हवाई फायरपछि प्रहरीले तस्करीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । भारतबाट ल्याउँदै गरेको एक बोरा बेल्ट ९कम्मरमा लगाउने पेटी०सहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको उनले बताए । सादा पोसाकमा रहेका दुई जना प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर एक दर्जन बढीको संख्यामा रहेका तस्करले अवरोध पुर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस्