कुवेत पुगेका १३ नेपाली महिलामाथि श्रमशोषण, उल्टै घरबाट पैसा माग्न पर्ने बाध्यता

काठमाडौं, मंसिर ६ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका १३ नेपाली महिला कामदारमाथि श्रम शोषण भएको पाइएको छ ।काठमाडौँस्थित गल्फ म्यानेज्मेन्ट म्यानपावर मार्फत विभिन्न समयमा कुवेत पुगेका १३ जना महिलालाई काम लगाएर पारिश्रमिक नदिएको पाइएको हो ।

कुवेतको मंगफस्थित नारायणी सैलुनमा ब्युटिसियनको काम गर्न पुगेका उनीहरु कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउनले सैलुन बन्द भएपछि समस्यामा परेको बताएको छ ।

मेनपावर कम्पनीसँग भएको सम्झौता अनुसार सेवा सुविधा र काम पनि नभएको उनीहरुको भनाइ रहेको छ । । दैनिक ८ घन्टा काम भनेर एजेन्टले ल्याए पनि अहिले दैनिक १२ घन्टा काम लगाए पनि पारिश्रमिक नदिएको र घरबाट पैसा मगाएर खाना खानु पर्ने बाध्यता उनीहरुको छ ।

जनही १ लाख २० हजार रुपैयाँदेखि १ लाख ३५ हजारसम्म तिरेर आएपनि यहाँ नेपालमा म्यानपावर र एजेन्टले भने अनुसारको कुनै सेवा सुबिधा नपाएको उनीहरुले बताएका छन् ।

पछिल्लो घरेलु कामदारका रूपमा खाडी मुलुक पुगेका नेपाली महिलामाथि श्रम शोषण हुने गरेको, समयमा तलब नदिने गरेको, बढी समय काममा लगाउने गरेको तथा कतिपय ठाउँमा यौन शोषणसमेत हुने गरेको गुनासो बढ्न थालेको छ ।

समस्या परेको भन्दै कुवेतस्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत अन्य सघंसंस्थाहरुमा उद्धारको लागि पहल गरिदिन अनुरोध गरेपनि आफूहरुको गुनासो कसैले पनि नसुनेको पीडितको आरोप छ। पछिल्लो समय कोरोनाका कारण धेरै मानिसको रोजगारी गुमेको छ ।

प्रतिक्रिया दिनुहोस्