उद्योग वाणिज्य महासंघ चुनावः ६४ पदमा १ सय २७ जनाको उम्मेदवारी
काठमाडौं, मंसिर ५ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभामार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ।
महासंघको निर्वाचन समितिले आज (शुक्रबार) उम्मेदवारहरुको अन्तिम नामावली जारी गरेको हो। निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुसहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ।
महासंघको चुनावमा दुई प्यानल देखिएका छन्। यसअन्तर्गत चन्द्रप्रसाद ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एसोसिएटतर्फ रामचन्द्र सघाईको उम्मेदवारी परेको छ।
यस्तै किशोर प्रधानको समूहतर्फ वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटतर्फ सौरभ ज्योतिको उम्मेदवारी परेको छ। निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार जिल्ला नगरतर्फको १८ पदका लागि ३८ जनाले उम्मेदवारी दिएका छन्।
यस्तै वस्तुगततर्फको १४ पदका लागि २९ जना, एशोसिएट तर्फको १९ पदका लागि ३३ को उम्मेदवारी परेको छ । यस्तै निर्वाचन क्षेत्र संस्थापक सदस्य समूहतर्फ एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि उम्मेदवारी दिनेहरुले आफ्नो अनुभवलाई देशको समग्र व्यवसायीक क्षेत्रको हित, विकास र विस्तारका लागि प्रयोग गर्न उम्मेदवारी भएको बताएका छन्।
मतदान गर्न पाउने सदस्यहरुको नामावली समेत महासंघ निर्वाचन समितिले प्रकाशित गरिसकेको छ। यसमध्ये जिल्लानगर उद्योग वाणिज्य संघतर्फ रहेको १ सय ७ सदस्य मध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा १२ जना, वाग्मती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा १० जना सदस्य तथा संघसंस्था रहेका छन्।
यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन्। मतदान गर्न पाउने द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहतर्फ १२ जना, एसोसिएटतर्फ ९ सय २१ सदस्यहरु रहेका छन्। यसबाहेक १२ वटा संस्थापक सदस्य तथा संघसंस्थाहरुले समेत मतदान गर्न पाउनेछन्।















प्रतिक्रिया दिनुहोस्