छठ पर्व – प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनले शुभकामना दिँदै यसो भने !
काठमाडौँ, मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको बताएका छन् ।
छठ पर्वको शुभकामना दिँदै उनले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।
‘तराईको मिथिला क्षेत्रमा महापर्वका रुपमा सनातन कालदेखि छठ मनाइँदै आएको छ। हाम्रा आदिग्रन्थ ऋग्वेद र कतिपय पुराणहरुमा सूर्यको महिमा वर्णित छ भने प्रागैतिहासिक कालदेखि दक्षिण एसियामा विशेष रुपमा सूर्यको उपासना गर्ने लोकसंस्कृतिले निरन्तरता पाउँदै आएको छ।’
ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘मानव समाज कृषियुगमा प्रवेश गरेपछि कृषि उत्पादनसँग सम्बन्धित परिकारसहित सूर्यको उपासना गर्ने परम्पराका रुपमा छठ पर्व सुरु भएको मानिन्छ। ’
उनले विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन आह्वान गरेका छन्।
‘छठ पर्वको यस उल्लासका बीच विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई हामी सामना गरिरहेका छौँ। यस महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन म सबैमा आह्वान गर्दछु। ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘ यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन, मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्याएको छ।’
उनले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको बताएका छन्। ओलीले महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेको उल्लेख गरेका छन्।
जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको बताउँदै नेकपा अध्यक्षसमेत रहेका ओलीले सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको धारणा राखेका छन्।
उनले छठको अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन्। एकतामार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने विश्वास व्यक्त गरेका छन्।
एकतालाई थप सुदृढ गर्ने विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने छठका अवसरमा शुभकामना सन्देश दिँदै भनेका छन्, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी छ । हाम्रो विविधतायुक्त संस्कार संस्कृतिले प्राकृतिकरुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनाका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ गर्दै आएका छन् ।”
विश्वव्यापी महामारी कोभिड–१९ का कारण यस वर्ष विगतजस्तो उल्लासमय वातावरणमा हुन नसक्ने भए पनि स्वास्थ्य सुरक्षाको नियमको पूर्ण पालना गरेर हर्षका साथ छठ पर्व मनाउन उनले सबैलाई आग्रह गरेका छन् ।
उपराष्ट्रपति पुनले यस पवित्र पर्वले कोरोना भाइरससँग जुध्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना पनि गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्