नेपाल प्रहरीमा थपियो एक एआइजी र पाँच डिआइजीको दरबन्दी
काठमाडौं, मंसिर ४ । सरकारले नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ।
गृह मन्त्रालयले दरबन्दी थपको पत्र बिहीबार प्राप्त भएको जानकारी दिएको छ।यसअघि नै मन्त्रिपरिषद बैठकले दरबन्दी थपको निर्णय गरेको भएपनि सोमबार स्वीकृत भएको थियो। योसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी रहने भएका छन्।
डीआईजीको संख्या जनपदतर्फ नै १९ पुगेको छ। गत चैतमा मात्रै सरकारले १२ डीआईजीको दरबन्दी कटौती गरेको थियो। कुनै समय नेपाल प्रहरीमा ४१ सम्म डीआईजी र १६ एआईजीको दरबन्दी कायम गरिएको थियो।
नयाँ दरबन्दी कायम भएसँगै अब प्रहरीमा रोकिएको बढुवा अगाडि बढ्ने छ। थपिएको दरबन्दीमा एआईजी बढुवा हुने व्यक्ति नै भावि आईजी हुने छन्।
यसमा प्रमुख दाबेदार महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेल छन्। थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमै कायम गरिएको छ।यस्तै सीआईबी प्रमुख डीआईजी सहकुलबहादुर थापा र प्रदेश २ का प्रमुख धिरजप्रताप सिंहलाई पनि भावि आईजीको दाबेदारका रुपमा हेरिएको छ।
तर यी मध्ये पोख्रेलको सम्भावना बढी छ।पछिल्लो निर्णयसँगै हालका डीआईजी विश्वराज पोखरेललाई अबको प्रहरी महानिरीक्षक(आइजिपी बन्ने बाटो सहज भएको छ। हाल रहेका डीआइजीमध्ये पोखरेल सबैभन्दा सिनियर हुन्।
उनी अन्य डीआइजीभन्दा करिब एक वर्ष पहिला एसएसपीबाट बढुवा भएका थिए। हाल रहेका तीन जना एआईजी वर्तमान आईजिपी शैलेश थापाको ब्याची भएकाले २०७९ साल बैशाख १८ गते थापासँगै अन्य तीन जना एआईजीले अनिवार्य अवकाश पाउनेछन्। प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट वा एआईजी नभए डीआईजीमध्येबाट आईजिपी नियुक्त गर्नुपर्ने व्यवस्था छ।
यसअघि सरकारले १२ डीआईजीको दरबन्दी घटाएर १४ मा झारेको थियो। त्यसअघि प्राविधिकसहित १६ एआईजीको दरबन्दी घटाएर ४ मा झारिएको थियो।











प्रतिक्रिया दिनुहोस्