नेकपा सचिवालय बैठक सार्न ओली पक्षको प्रस्ताव

काठमाडौं, मंसिर २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड(माधव पक्षसँग प्रस्ताव गरेको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो ।प्रधानमन्त्री केपी ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

नेकपा भित्रको विवाद कसरी सुल्झाउने भन्ने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित उनीपक्षीय नेताहरु सघन छलफलमा जुटेका छन् ।बालुवाटारको छलफलमा ओलीसहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी छन् ।

भोलिका लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओलीले जसरी पनि टार्ने तयारीमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरु बैठक बस्ने दाबी गर्दै आएका छन् ।

प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।बालुवाटारमा भइरहेको छलफलमा प्रचण्डले बैठक सार्न नमानेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

तर, प्रचण्डले भने बैठक सार्नेरनसार्ने विषय पनि बैठकबाटै टुंगो लगाउनुपर्ने ओली पक्षलाई जवाफ दिएको बुझिएको छ ।प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई वाहियात र झूठको संज्ञा दिँदै आफूले त्यसको जवाफ नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्