मोडेर्नाले विकास गरेको कोरोना खोपले ९५ प्रतिशत काम गरेको दाबी

काठमाडौं, मंसिर २ । अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप कोरोना भाइरस विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । यो सफलतासँगै खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ ।

यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको थियो ।

मोडेर्नाले आफ्नो कोरोना खोपको परीक्षणका नतिजा सार्वजनिक गर्न पाउनु निकै ठूलो खुसीको दिन भएको बताएको छ । साथै अबको केही सातामै खोपको अनुमोदनका लागि आवेदन दिने जनाएको छ । मोडेर्नाले खोपको तेस्रो चरणको परीक्षणको क्रममा ३० हजार मानिसहरुमा परीक्षण गरेको थियो । खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको बताइएको छ ।

दुवै कम्पनीले कोरोना भाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ । मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ । यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ । यसलाई सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्