छलफल शरु भयो ‘वान बेल्ट वान रोड’ माथि
काठमाडौं । दक्षिण एशियाली मुलुकलाई चीनसँग जोडेर आर्थिक विकास गर्न चिनियाँ राष्ट्रपति सी पिँगको ‘वान बेल्ट वान रोड’ (एक क्षेत्र एक मार्ग) प्रस्तावमा छलफलका लागि अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ ।
तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान र पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले संयुक्तरूपमा आज आयोजना गरेको दुईदिने सम्मेलनमा चीन, भारत, बंगलादेश, नेपालका तथा पाकिस्तानका प्रतिनिधिहरु सहभागी भएका छन् ।
सम्मेलन शुरु गर्दै नेकपा एमालेका नेता माधवकुमार नेपालले भने “दक्षिण एशियाली क्षेत्रको विकास शान्ति र स्थिरताबाट मात्र सम्भव हुने भएकाले एक डलरभन्दा कम आम्दानी हुने यस क्षेत्रका जनताको आर्थिक विकासका लागि सबैले गम्भीर भएर लाग्नुुपर्छ ।” साथै यस क्षेत्रका जनताले भोगेका समस्या तथा विकासका प्रयासबारे आ–आफ्नो अनुभव आदान–प्रदान गरी निश्कर्ष निकाल्न आग्रह गरे ।
चिनियाँ विश्लेषक तथा सिचुआन विश्वविद्यालयका प्राध्यापक वाङ् झाउले चीन र दक्षिण एशियाली मुलुकलाई जोडेर आर्थिक विकास गर्ने चीनको पहललाई मूर्तरूप दिन चीनले एक अध्ययन केन्द्र स्थापना गरी कार्य प्रारम्भ गरेको बताए । यसै
गरि भारतीय प्राध्यापक राज सान्धुले गरिबीको चपेटामा परेका यस क्षेत्रका जनताको आर्थिक समृद्धिका लागि हामी सबै एकताबद्ध हुनुपर्ने बताए ।
यस्तै पाकिस्तानको पीआइपीएक्स इन्स्टिच्युटका निर्देशक एम. अमिर रानाले आर्थिक स्थिति कमजोर रहेका यस क्षेत्रका जनताले सम्मेलनलाई महत्व दिनुपर्ने बताए । बंगलादेशको मानव अधिकार आयोगका पूर्वअध्यक्ष डा. मिजानुर रहमान, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले चीनको प्रविधि, कृषि, यातायात, दू्रतत्तर विकास नेपालजस्ता अल्पविकसित मुलुकका लागि प्रेरणादायी भएको बताए ।
प्रतिक्रिया दिनुहोस्