प्रधानमन्त्री ओलीले भेटे उपाध्यक्ष बामदेवसँग, गौतमले दिए यस्तो सुझाव

काठमाडौँ, कार्तिक ३० । प्रधानमन्त्री एवं सत्तारूढ नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।आइतबार बिहान भएको भेटमा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भूमिका खेल्न गौतमलाई आग्रह गरेका थिए ।

ओलीको आग्रहमा गौतमले कार्यकारी अध्यक्ष प्रचण्डसहितको नेतृत्वलाई अन्डरमाइण्ड नगरी सबैलाई समेटेर लैजान सुझाव दिएका छन् ।

बैठकमा प्रस्ताव नै पेस भएकाले सहमति वा छलफलबाटै त्यसलाई निर्क्यौलमा पुर्‍याउनको विकल्प अब नभएको उनले बताएको स्रोतले जनाएको छ । पार्टीभित्र अल्पमतमा परेपछि ओलीले फेरि गौतमलाई इच्छा बमोजिमको मन्त्री बन्न अफरसमेत राखेको बताइन्छ ।

पार्टीभित्र संकट बढ्दै गएपछि ओलीले यहीबीचमा पटकरपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । ती भेटवार्तामा के भए भन्ने चाँही अहिलेसम्म खुलेको छैन ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगको छ ।

बहुमत सचिवालय सदस्यको दबाबपछि शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।

उक्त प्रस्तावमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि समर्थन रहेपछि ओली संकटमा परेका छन् ।

बहुमत सचिवालय सदस्य ओलीविरूद्ध संस्थागत रूपमै लागेपछि उनी फेरि आफ्नो पक्षमा बहुमत बनाउन क्रियाशिल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्