बैतडी बस दुर्घटनाका चालक पक्राउ, सवारी ज्यान मुद्दामा कारबाहीको तयारी
काठमाडौं , कार्तिक ३० । बैतडीमा नौ जनाको ज्यान जाने गरी दुर्घटनामा परेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।चार दिन अघि बैतडीमा नौ जनाको ज्यान जाने गरी बस दुर्घटनामा परेको थियो ।
दुर्घटना अनुसन्धानका लागि दोगडाकेदार गाउँपालिका–७ खोचलेक घर भएका बसका चालक वीरेन्द्र कार्कीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
दुर्घटना परी घाइते भएका कार्कीलाई माया मेट्रो अस्पताल धनगढीले डिस्चार्ज गरेलगत्तै शनिबार प्रहरीले पक्राउ गरेको हो। यसैबीच दुर्घटनामा ज्यान गुमाउने नौ जनाकै शव प्रहरीले आफन्तलाई बुझाएको छ। यसैबीच पक्राउ परेका बसका चालकमाथि कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
चालकमाथि सवारी ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेका पनि उनले बताए । नियन्त्रणमा लिइएका चालक आफैँ बस धनीसमेत रहेका प्रहरीले जनाएको छ।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस बिहीबार राति दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो भने ४३ जना घाइते भएका थिए।











प्रतिक्रिया दिनुहोस्