प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन, नेता नेपाल भन्छन्- पार्टीको निर्णय सबैले स्वीकार गरे समस्या समाधान हुन्छ

काठमाडौं , कार्तिक २८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई दिइएको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ ।अर्को बैठक मंसिर ३ गते बस्नेछ । यता वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताएका छन् ।

काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैं हुने बताएका हुन् । त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखि छलफल, बहस र वादविवाद गर्नुपर्ने उनले बताए ।बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने उनको भनाइ छ ।

पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्ने पनि नेता नेपालले बताए । पार्टीको अनुशासनमा बाधिने र आ(आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरुलाई सुधारेमा कम्युनिस्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्