गम्भीरखाले यौन हिंसाका घटनामा मेलमिलाप गरिनु गलत: कानुनमन्त्री तुम्बाहाङ्फे
कार्तिक २८ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले गम्भीरखाले यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गराउनु गलत भएको बताएकी छिन् ।यस्ताखाले प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको उनको भनाइ छ ।
यौन हिंसा सम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले यौन हिंसालाई प्रोत्साहन गरिरहेको बताइन् ।
खासगरी बलात्कार जन्य घटनाहरूमा समाजभित्रै मेलमिलाप गर्ने गरिएको पाइएको र यसले यौन हिंसासम्बन्धी घटनाहरूलाई समाजभित्रै मेलमिलाप गर्नुहुँदैन भन्ने व्यवस्था ऐन–कानुनमा नै गर्नुपर्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् ।
मेलमिलाप गराउने वा गर्नका लागि उत्साहित गर्ने व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको उनको भनाइ छ ।
स्थानीय तहमा गठित न्यायिक समितिमा यस्ता घटनाको मेलमिलाप गर्नुहुँदैन भन्ने जानकारी भएको, तर यस्ता घटनाहरू न्यायिक समितिमा आउनै नदिने गरी समाजभित्रै मेलमिलाप हुने गरेको बताइन् ।
समाजमा हुने यौन हिंसामा मेलमिलाप गर्नुहुँदैन भन्ने सन्देश सञ्चारमाध्यमबाट दिन सके यौन हिंसा न्यूनीकरणमा सघाउ पुग्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् ।
यस्तै पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सम्बन्धमा बहस भए पनि संविधानमा भएको व्यवस्थाअनुरूप नेपालमा कुनै पनि घटनामा मृत्युदण्ड दिने कानुन निर्माण गर्न नमिल्ने बताइन् ।कडा प्रकृतिका सजाय दिने व्यवस्था कानुनमा गर्दैमा घटना कम हन्छ भन्ने नभएकाले सचेतनामा नै जोड दिनुपर्नेमा उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्