ढकाल प्यानललाई १ नम्बर प्रदेशको पनि पूर्णसमर्थन, जीत सुनिश्चत

काठमाडौं , कार्तिक २८ । प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टीमले मात्र गर्न सक्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि देशव्यापी चुनावी दौरानमा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई एक नम्बर प्रदेशका जिल्ला तथा नगर अध्यक्षहरुले पूर्ण समर्थन गरेका हुन् ।

निर्वाचन अभियानअन्तर्गत बिहिबार धरान पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उहाँको टिमका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरुलाई स्वागत गर्दै १ नम्बर प्रदेशका १७ भन्दा बढी जिल्ला नगर अध्यक्षहरुले उक्त कुरा बताएका हुन् ।

सो कार्यक्रममा उपस्थित नभए पनि मोरङ उद्योग संगठनका अध्यक्ष भिमप्रसाद घिमिरेले ढकाल प्यानललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै आसन्न निर्वाचनका लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।

‘बिहिबार धरानको भेडेटारमा आयोजित कार्यक्रममा १ नम्बर प्रदेशका अधिकांश जिल्ला तथा नगर अध्यक्षहरुले अहिलेको अवस्थामा ढकाल नेतृत्वको टीमले मात्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान गर्न सक्नेछ भन्दै जिल्ला दौडाहामा रहेको ढकाल प्यानललाई स्वागत तथा जीतको अग्रीम बधाई दिएका थिए ।

यसअघि महासंघका धेरै अध्यक्षहरु भएपनि उनीहरुले आफ्नो कार्यकाल बिताएर रिटायर्ड भएर जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वास्ता नगरेको र हालसम्म पूर्व अध्यक्ष चन्डीराज ढकालले मात्रै समस्या समाधानका लागि खटेको भन्दै उनले समर्थन गरेको टीमलाई आफुहरुले जिताउने जिल्ला नगरको अध्यक्षहरुलले प्रतिवद्धता जाहेर गरेका थिए ।

साथै यसअघिका अध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या पर्दा फोन समेत नउठाएको गुनासो गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले सहज रुपमा भेट दिँदै जिल्ला नगरका उद्योगी व्यवसायीको समस्या समाधान गर्दैै आएकाले आफुहरुमाथि ढकाल प्यानललाई जिताउनु पर्ने दायित्व रहेको बताएका थिए ।

कार्यक्रममा जिल्ला नगरका अध्यक्षहरुले देशको आर्थिक विकास तथा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्दै विदेशी लगानी भित्र्याउनका लागि पनि ढकाल नेतृत्वको टीम आवश्यक रहको बताएका थिए ।

यसैगरी यस अघिका नेतृत्वबाट जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वेवास्ता गरेको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानलबाट आफ्ना समस्या समाधान हुने आशा पलाएको भन्दै उक्त टीमलाई आगामी निर्वाचनमा जसरी पनि जिताउनुपर्ने उनीहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा ढकाल प्यानललाई स्वागत गर्दै प्रदेश १ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र रावतले अहिलेको अवस्थामा व्यावसायीक हकहितका लागि ढकाल प्यानलको विकल्प नरहेको बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले महासंघमा शुद्धीकरण र शदृढीकरण नभई कुशल नेतृत्वको आवश्यकता परेको भन्दै जसका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम आवश्यक रहेको बताए ।

साथै अहिलेको महासंघ नेतृत्वले सरकारसँग लविङ गरेर कोभिडका कारण व्यवसायीलाई परेका समस्या समाधान गर्न नसकेको भन्दै त्यसका लागि पनि यस पटक ढकाल प्यानललाई नेतृत्वमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी ६ वर्षका लागि भएको भन्दै अहिलेको अवस्थामा सही व्यक्ति छनौट गर्न नसकेमा जिल्ला नगरका समस्या मात्रै नभई समग्र निजी क्षेत्रका लागि चुनौती थपिने बताए ।

अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफू र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताए ।

व्यावसायिक सफलतामार्फत् स्टेक होल्डरको रुपमा स्थापित व्यक्तिले मात्रै व्यवसायीको वास्तविक रुपमा नेतृत्व गर्न सक्ने भन्दै त्यसको लागि आफू तयार रहेको पनि ढकालले बताए ।

‘जसले व्यवसाय गरेको छ, जसले व्यावसायीक समस्यासँग जुधेको छ उसले मात्रै हामी व्यवसायीका समस्या सरकारसमक्ष राख्न सक्छ र समस्या समाधान गर्न पहल गर्नेछ,’ उनले भने ।

कार्यक्रममा उनले आफुले ७ ओटै प्रदेशका पर्यटन व्यवसाय विस्तारका लागि परियोजनाहरु अघि बढाएको जानकारी दिँदै आ आफ्ना क्षेत्रका त्यस्ता सम्भावनाका क्षेत्र भएमा प्रस्ताव ल्याउन आग्रह गरेका थिए । साथै त्यस्ता कार्यक्रममा केन्द्र र स्थानीय उद्योगी व्यवसायीको सहकार्यमा अघि बढाउन आफुहरु तयार रहेको उनको भनाई थियो ।

चन्द्र ढकालको देशभर विभिन्न खालका उद्योग व्यवसाय फैलिएको भन्दै चुनाव पश्चात पनि उनले स्थानीय व्यवसायीसँगै सहकार्य गरेर अघि बढ्ने उनको भनाई थियो । साथै ढकाल नेतृत्वको टीमले स्थानीय उद्योगी व्यवसायीका समस्या समाधान तथा व्यापार व्यवसायका लागि पुलको काम गर्ने बताए ।

साथै अन्य जिल्लामा प्रत्यक्षरुपमा उपस्थित हुन नसक्ने अध्यक्षहरुले पनि आफ्नो प्रतिनिधि पठाएर ढकाल प्यानलको समर्थन गर्दै जीतको अग्रिम शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा देशभरबाट ५२ भन्दाबढी जिल्ला नगरका अध्यक्षहरु उपस्थित भएर ढकाल प्यानललाई जिताउन लागिपर्ने बचनबद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्