प्रहरीको समायोजन प्रक्रिया लम्बियो, कहाँ अड्कियो फाइल ?
काठमाडौं, कात्तिक २८ । प्रहरी समायोजन अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाएको झन्डै एक महिना बितिसक्दा पनि नेपाल प्रहरीको समायोजन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
नेपाल प्रहरीको समायोजनका लागि तयार पारिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रिपरिषद्ले पास नगरिदिँदा समायोजन प्रक्रिया लम्बिएको हो ।
प्रहरी प्रधान कार्यालयले तयार पारेर गृह मन्त्रालय पठाएको ओएनएम गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको भए पनि मन्त्रिपरिषद्को बैठकमा एजेन्डाले प्रवेश नपाएपछि अहिले समायोजन प्रक्रिया अलपत्र परेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार तीन महिनामा समायोजन प्रक्रिया सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ओएनएम पास नहुँदा प्रक्रिया नै अगाडि बढ्न नसकेको प्रहरीले जानकारी दिएको छ । प्रधानमन्त्री केपी ओलीले नै समायोजन प्रक्रियामा चासो नदिएको कारण ओएनएम पास नभएको गृहका एक उच्च अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्