नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाई कांग्रेस नेता शाहीको चुनौती

काठमाडौं, कार्तिक २७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चीनलाई एक इन्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिएका छन् । नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलाउन नेपाली कांग्रेसका नेता शाही मुख्यरूपमा लागि परेको आरोप लगाउँदै चिनियाँ मुख पत्र ग्लोबल टाइम्सले मंगलबार रिपोर्ट प्रकाशित गरेपछि उनले विज्ञप्ति जारी गर्दै यस्तो चुनौती दिएका हुन् ।

नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाई छायामा पार्ने गरी आफ्नो मुखपत्र ग्लोबल टाइम्स पत्रिकामार्फत चीन सरकारले लगाएका सम्पूर्ण मिथ्या आरोपलाइ खारेज गर्दछु र एक इन्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाइ चुनौती दिन्छु,” उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् ।

नेपाली भूमि मिचेको विषयलाई छाँयामा पार्न चिनियाँ पक्ष लागि परेको पनि उनले बताएका छन् ।कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटनमन्त्री समेत रहेका शाहीले हालै सीमा मिचिएको भनिएको हुम्लाको क्षेत्र अवलोकन गरी चीनले सीमा मिचेको प्रतिवेदन पार्टीमा बुझाएका थिए । उनको प्रतिवेदनका आधारमा कांग्रेसले सरकारलाई सीमा विवाद समाधानको पहल गर्न माग गरिरहेका बेला चीनले शाहीलाई चीनविरोधी गतिविधिको नेतृत्व गरिरहेको आरोप लगाएको थियो ।

“हुम्ला जिल्लाको जिम्मेवार जनप्रतिनिधिका नाताले आफ्नो भूमिको रक्षाका लागि कुनै किसिमको धाक, धम्की र अनुचित प्रभावमा नपरी अटुट रूपमा लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” नेता शाहीले विज्ञप्तिमार्फत भनेका छन्, “साथै चीनले नेपाली भूमि नमिचेको प्रमाणित गरे जस्तोसुकै सजाय भोग्नसमेत तयार रहेको जानकारी गराउँदै आफ्नो भूमिको रक्षाका लागि नेपाल सरकार र सरोकार निकायलाई निरन्तर दबाब सिर्जना गर्न र यस्ता मिथ्या एवं काल्पनिक समाचारबाट भ्रममा नपर्न आम नेपाली समुदायलाइ अपिल गर्दछु ।”

हुम्लाको जिम्मेवार जनप्रतिनिधिका नाताले नेपाली भूमिको रक्षाका लागि धाक, धम्की र अनुचित प्रभावमा नपरेर अटुट रूपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले चीन सरकारले सीम नमिचेको प्रमाणित गरे सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्