कोरोना भ्याक्सिनः रूसमा उत्पादित स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी देखियो
काठमाडौं, कार्तिक २६ । रूसमा उत्पादित गरेको कोरोनाविरूद्धको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ ।
त्यहाँको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको दाबी गरेको हो । बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित हो। उनीहरूलाई भ्याक्सिनका दुबै डोज लगाइएको थियो।
भ्याक्सिन विकासमा महत्वपूर्ण भूमिका खेलेको र संसारभर वितरणको जिम्मा पाएको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले भ्याक्सिनका दुई डोज लगाएका मानिसलाई कोरोना संक्रमण हुने सम्भावना ९२ प्रतिशत कम भएको बताएको छ।
फन्डका प्रमुख किरिल डिमिट्रिएभले भने,‘‘तथ्यमा आधारित भएर हामीले एउटा प्रभावकारी भ्याक्सिन देखाइरहेका छौं।’ अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै रूसले आफ्नो भ्याक्सिनबारे विवरण सार्वजनिक गरेको हो।
प्रतिक्रिया दिनुहोस्