छुट्टाछुट्टै सवारीसाधन दुर्घटना: ५ जनाको मृत्यु

काठमाडौं , कार्तिक २६। छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । दाङ, राप्ती गाउँपालिका ४, मौरीघाटस्थित सडकमा ना.६ख ३३४४ नम्बरको ट्रकले रा.५प ६७३३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका ५, सिसहनिया कमलरोडका १६ वर्षीय मनोज गाहासमेत तीनजनाको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेको ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रामेछाप, मन्थली नगरपालिका १, एकलेबरस्थित सडकमा प्रदेश ३-०१-००६ ख ३२० नम्बरको गाडी सडकबाट ६० मिटर तल खसेर आज दुर्घटना हुँदा चालक उदयपुर कटारी नगरपालिका ४ का ३२ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएका उनको तामाकोसी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै बारा, जितपुर सिमरा उपमहानगरपालिका १ स्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट परिचय नखुलेकाअन्दाजी ४० वर्षीया महिलाको आज घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारीसाधनको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्